Search for:
Vastu

वास्तुशास्त्र – के हो र किन चाहिन्छ ?

Pinterest LinkedIn Tumblr
भवन निर्माणसँग सम्बन्धित वास्तुशास्त्र पूर्वीय ज्ञानविज्ञानका विधामध्ये एक हो । यसलाई चार वेदमध्ये अथर्व वेदको उपवेद मानिन्छ । वास्तुशास्त्रमा प्रकृति, वातावारण र ऊर्जाको उचित व्यवस्थापन प्राथमिकतामा राखिन्छ । यसमा भूमि, जल, वायु, अग्नि र ब्रह्माण्डजस्ता पञ्चतत्वको विशेष भूमिका हुन्छ । पञ्चतत्वको व्यवस्थापन हुन नसकेमा मानव जातिको हानि हुने वास्तुशास्त्रमा विश्वास राख्नेको मत छ ।

वास्तुशास्त्रलाई विज्ञानसँग पनि जोडेर हेरिन्छ । वास्तुशास्त्रमा विशेषगरी देवताको बास कुन स्थानमा हुन्छ भन्ने कुरालाई महत्वपूर्ण मानिन्छ । वास्तुलाई चार भागमा विभाजन गरिएको छ । ढोका, सुत्ने कोठा, भान्छा कोठा, पूजा कोठा, पूजा कोठाको व्यवस्थापनबारे यसमा उल्लेख गरिएको हुन्छ । यसअनुसार उत्तर–पूर्वमा पूजा कोठा राख्दा शुभ मानिन्छ । दक्षिण–पूर्वमा भान्छा कोठा र दक्षिण–पश्चिममा मुख्य शयन कक्ष राख्दा शुभ हुने वास्तुशास्त्री बताउँछन् । वास्तुमा कुन स्थानमा कुन रङ प्रयोग गर्दा शुभ हुन्छ भन्ने पनि समावेश गरिएको हुन्छ । दक्षिणमा रातो, दक्षिण–पश्चिममा खैरो, पूर्वमा सेतो र उत्तर–पूर्वमा पहेँलो रङ शुभ हुने विश्वास गरिन्छ । वास्तुअनुसार जग्गा किन्दा सकेसम्म चारकुना मिलेको समतल हेर्नुपर्छ । जग्गा भिरालो क्षेत्रमा भए उत्तर वा पूर्व भिरालो हेर्नुपर्छ । वास्तुशास्त्रअनुसार ढोका पूर्व–उत्तर, भान्सा पूर्व–दक्षिणमा हुनु राम्रो मानिन्छ । पूर्व, ईशान र उत्तरमा देवशक्ति रहने भएकाले यस दिशामा पूजाकोठा, अध्ययन कक्षलगायत निर्माण गर्नु राम्रो हुन्छ । वास्तुशास्त्रअनुसार आग्नेय, दक्षिण, नैर्ऋत्य, पश्चिम र वायव्य दिशामा कुनै पनि प्रयोजनका लागि खाल्डो बनाउनुहुँदैन ।

वास्तु भूमि, घरायसी, व्यावसायिक र धार्मिक गरेर चार प्रकारका हुन्छन् । परापूर्वकालदेखि नै भवन निर्माणमा वास्तुशास्त्रको प्रयोग हुँदै आएको छ । धार्मिक परिवारमा यसको प्रयोगलाई निकै महत्व दिइन्छ । खास गरेर नेपाल, भारतजस्ता पूर्वीय आध्यात्मिक विचारका स्रोत मुलुकमा वास्तुशास्त्रको प्रयोग व्यापक छ । पछिल्लो समय यसको प्रयोगमा जनचासो झनै बढेको पाइन्छ । विश्वका अन्य देशमा पनि कुनै न कुनै रूपमा वास्तुशास्त्रको प्रयोग भइरहेको यसका विज्ञ बताउँछन् ।

Write A Comment

Pin It