Search for:
Market News

काठमाडौंमा २५ करोड लगानीको ‘ट्रयाङ्क्विलिटी वेलनेस’ खुल्दै, लन टेनिसदेखि स्विमिङ पुलसम्म हुने

Pinterest LinkedIn Tumblr

काठमाडौं। स्पा तथा वेलनेस व्यवसायमा स्थापित नेपाली ब्रान्ड ट्रयाङ्क्विलिटी स्पाले काठमाडौंको हात्तीगौंडामा ‘ट्रयाङ्क्विलिटी वेलनेस जोन’ स्थापना गर्ने भएको छ। ट्रयाङ्क्विलिटी स्पाका संचालक भुवन फैंजुको यो महत्वाकांक्षी परियोजना २० रोपनी क्षेत्रफलमा विस्तारित हुनेछ। जसमा खेलकुद, फिटनेस र वेलनेससँग सम्बन्धित विभिन्न आउटडोर-इनडोर सेवा-सुविधाहरु हुने फैंजुले बताए।

उनका अनुसार, ट्रयाङ्क्विलिटी वेलनेस जोनमा कुल २५ करोड लगानी हुनेछ। ‘यसका लागि जग्गाको बन्दोबस्ती भइसकेको छ । आगामी नयाँ वर्ष (वैशाखबाट) संचालनमा ल्याइसक्ने योजना छ,’ फैंजुले भने।वेलनेस जोनका सबै भौतिक (भवन) संचरनाहरु स्टिल स्ट्रक्चर डिजाइनका हुनेछन्। यसकारण निर्माण थालेको चार महिनाभित्रै सबै संरचनाहरु तयार भइसक्ने फैंजुले बताए। 

ट्रयाङ्क्विलिटी वेलनेस जोनमा दुईवटा टेनिस कोर्ट, चारवटा ब्याडमिन्टन कोर्ट, हेल्थ क्लब, इन्डोर हिटेड स्विमिङ पुल, जिम, साउना, जाकुजी, ब्युटी सलुन, रेस्टुरेन्ट, स्किल डेभलपमेन्ट सेन्टर लगायत हुने बताइएको छ। जिम हलका ट्रेनरहरु सबै अमेरिकाबाट तालिम प्राप्‍त गरी प्रमाणिकरण भएका हुने फैंजुको भनाइ छ। 

यस्तै, कुलिनरी आर्टस्, फिटनेस, स्पा तथा वेलनेशको क्षेत्रमा काम गर्ने दक्ष जनशक्ति उत्पादन गर्ने स्किल डेभलपमेन्ट सेन्टर समेत यसमा संचालनमा ल्याउने बताइएको छ। यीबाहेकका अन्य सुविधाहरु पनि वेलनेस जोनमा रहने जनाइएको छ।

फैंजुले सन् २००८ मा उपत्यकाको लाजिम्पाटमा पहिलो आउटलेट स्थापना गरेर सुरु गरेको ‘ट्रयाङ्क्विलिटी स्पा’ को व्यवसाय काठमाडौंदेखि मलेसियासम्म पुर्‍याइसकेका छन्। अहिले काठमाडौंको र्‍याडिशन, सोल्टी, सांग्रिला, र्‍याडिसन, शंकर लगायका विभिन्न तारे होटलहरुमा पनि ट्रयाङ्क्विलिटीले विविध ब्रान्ड नाममा आउटलेटहरु संचालन गरिरहेको छ। यी सहित दर्जन हाराहारी स्थानमा ट्रयाङ्क्विलिटीले व्यवसाय विस्तार गरिसकेको छ, जसमा मलेसियाको पाम गार्डेन होटलसम्मको शाखा रहेको छ। 

उपत्यकाबाहिरका चार सहरमा पनि विस्तार हुँदै

यसबाहेक ट्रयाङ्क्विलिटी स्पाले काठमाडौं उपत्यकाबाहिर तराईका विभिन्न स्थानमा पनि व्यवसाय विस्तार गर्ने योजना अघि बढेको फैंजुले बताएका छन्। विराटनगर (मोरङ), वीरगन्ज (पर्सा), बुटवल (रुपन्देही), भरतपुर (चितवन) लगायतका स्थानमा ट्रयाङ्क्विलिटी स्पा विस्तार गर्न लागिएको उनले बताए।

उपत्यकाबाहिरका स्थानहरुमा व्यवस्थापन ट्रयाङ्क्विलिटीको रहने गरी लगानी अन्य लगानीकर्ताको रहने मोडेलमा विकास गर्न लागिएको हो। विराटनगरको ट्रयाङ्क्विलिटी स्पा आगामी जुनसम्ममा संचालनमा ल्याइसक्ने फैंजुले बताए।  यसका लागि सम्झौतासमेत भइसकेको छ।

वीरगन्जमा भवन निर्माण भइसकेको छ भने स्पाको डिजाइन तथा साजसज्जा मात्र बाँकी छ। यो स्पा पनि आगामी चार महिनामा संचालनमा ल्याइसक्ने लक्ष्यका साथ काम भइरहेको उनको भनाइ छ। यसबाहेक बुटवर र भरतपुरमा भने जग्गा खोज्ने काम भइरहेको उनले बताए।

साभार: बिजमाण्डू

Write A Comment

Pin It