Search for:
Market News

कान्तिपुरसँग लफडा भएको तीनकुनेको जग्गा सुमार्गीले बिक्री गरे, ‘सुमार्गी अब करिव ऋण मुक्त’

Pinterest LinkedIn Tumblr

काठमाडौं। कान्तिपुरसँग लफडा भएको तीनकुनेको जग्गा ब्यवसायी अजयराज सुमार्गीले बिक्री गरेका छन्। सुमार्गीले गत असार १७ गते एक अर्ब ८६ करोड ९४ लाख रुपैयाँमा बिक्री गरेका हुन्। 

जग्गा सुमार्गीको निजी कम्पनी मुक्ती श्री सिमेन्ट प्रालिको नाममा थियो। मालपोत कार्यालय डिल्लीबजारबाट काठमाडौं इन्टरनेशनल हस्पिटल प्रालिको नाममा जग्गाको लिखत पास भएको छ।

कान्तिपुर दैनिक प्रकाशन गर्ने कान्तिपुर पब्लिकेसन्स लिमिटेडसँग यही जग्गामा सुमार्गीको लफडा भएको थियो। सुरुमा यो जग्गा कान्तिपुरको थियो। २०७० सालमा कान्तिपुरलाई आर्थिक संकट परेपछि जग्गा सुमार्गीले खरीद गरेका थिए। पछि कान्तिपुरले बिक्री मूल्यमा जग्गा फिर्ता मागेको भन्दै लफडा भएको थियो। यस विषयमा कान्तिपुर विरुद्ध सुमार्गीले पत्रकार सम्मेलन गरेका थिए भने अदालतमा समेत मुद्दा हालेका थिए।

प्राप्त विवरण अनुसार, प्राप्त जानकारी अनुसार सुमार्गीले ५ रोपनी ९ आना जग्गा बिक्री गरेका हुन्। यो कान्तिपुरको प्रकाशन गृह कान्तिपुर पब्लिकेसन्स लिमिटेड (तीनकुनेमा हुँदा) को अगाडिको जग्गा (अहिले यहाँ ड्राइभिङ सेन्टर छ)  हो। यो जग्गा चितवन मेडिकल कलेज चलाइरहेका डा. हरिशचन्द्र न्यौपानेको समूहले खरीद गरेको हो। समूहले त्यहाँ सुविधा सम्पन्न अस्पताल निर्माण गर्ने तयारी गरिरहेको छ।

सुमार्गीले तीनकुनेको जग्गा बिक्री गरेको पैसाबाट नेपाल सेटेलाइटको नाममा लिएको ठूलो ऋण भुक्तानी गरेका छन्। नेपाल इन्भेष्टमेन्ट बैंकमा रहेको डेढ अर्ब रुपैयाँ ऋण उनले भुक्तानी गरिसकेका छन्।

बाँकी पैसा पनि उनले केही बैंक ऋण तिर्न प्रयोग गरेका छन्। जग्गा बिक्रीबाट पैसा आएपछि सुमार्गी अहिले एक ठाउँबाहेक ऋणमुक्त भइसकेको स्रोतहरुको दाबी छ। उनीसँग अब प्रभु बैंकको मात्र ठूलो ऋण बाँकी छ। त्यो ऋण दुई बर्षअघि सुन्धाराको एक सम्पति खरीद गर्दा लागेको हो।

सुन्धारास्थित सीटीसी मलको पछाडि र नागरिक दैनिकको अगाडि रहेको काठमाडौं महानगरपालिका कार्यालयसँगैको जग्गा र पुर्वाधार किन्दा सुमार्गीलाई ऋण लागेको थियो। सिभिल समूहका इच्छाराज तामाङको होटलमा रुपान्तरण गरिएको अपार्टमेन्ट सुमार्गीले खरीद गरेका थिए। त्यो प्रोपर्टी उनले एक अर्ब ३० करोड रुपैयाँमा खरीद गरेका थिए। सुमार्गीले यो सम्पति प्रभु बैंकबाट ऋण लिएर खरीद गरेका हुन्।

सुमार्गीले केही समयअघि नेपाल बंगलादेश बैंकलाई पनि जग्गा बिक्री गरेका थिए। त्यो पैसा पनि उनले ऋण तिर्नमा प्रयोग गरेका थिए। 

‘अहिले सुमार्गीजी सबैभन्दा राम्रो क्यास फ्लो भएको मान्छे हो। अदालतले विदेशबाट ल्याएको पैसा फुकुवा गरेपछि उहाँ ऋण मुक्त हुँदै जानु भएको हो’ सुमार्गीसँग निरन्तर कारोबार गरिरहेका एक बैंकरले भने, ‘अब एकदमै थोरै ऋण मात्र छ।’

सुमार्गी ऋणमुक्त भएसँगै उनीसँग गर्नका लागि नयाँ परियोजना पनि खुम्चिँदै गएको छ। उनले सिमेन्टमा लगानी गरेनन् भने नेपाल सेटेलाइट पनि खुम्चिँदै गएको छ। जग्गा जमीन भने प्रशस्त छ। काठमाडौंको प्राइम ठाउँमा सुमार्गीको अझै जग्गा छ। उनको सञ्चार माध्यम, नेपाल सेटेलाइटलगायत केही खुद्रा ब्यवसायहरु रहेको छ। 

स्रोतका अनुसार, कोभिडका कारण हस्पिटालिटी ब्यवसायमा बिस्तार हुने योजना केही पर सरेको छ। सुमार्गी अवस्था केही सामान्य हुने वित्तिकै होटल तथा रिसोर्ट निर्माण गर्ने तयारीमा छन्।

साभार: बिजमान्डु

अन्य समाचार

Write A Comment

Pin It