Search for:
Market News

घर बहाल लिंदादिंदा घरधनी र बहालवालाले ध्यान दिनुपर्ने कुराहरु

Pinterest LinkedIn Tumblr

कुनै व्यक्तिले आफ्नो स्वामित्वमा रहेको घरलाइ, रकम या रुपैयाँ लिने गरी निश्चित समय अवधिका लागि अन्य व्यक्तिलाई प्रयोग गर्न दिनु बहालमा दिनु हो । बहालमा दिएको हुनका लागि कसैले आफ्नो घर निश्चित समयका लागि अन्य व्यक्तिलाई दिएको र जसलाई दिएको हो, उसले उक्त घर उपभोग गरेको हुनुपर्छ । घर भन्नाले सिंगो घर, घरको तल्ला, कोठा र घरले चर्चेको जग्गा जमीनलाई समेत जनाउँछ । निश्चित समयका लागि रकम तिरेर अर्काको घरमा बस्नु बहालमा बस्नु हो ।

कुनैपनी व्यक्तिहरूका बीच विभिन्न शर्त राखेर एकापसमा घर बहालमा लिनेदिने गरी सम्झौता हुन्छ भने त्यो घरबहाल सम्झौता हो । मुलुकी देवानी संहिता २०७४ को परिच्छेद ९ को दफा ३८३ देखि दफा ४०५ सम्ममा यससम्बन्धी व्यवस्था गरिएको पाइन्छ ।

दफा ३८३ बहालमा दिएको मानिने : कसैले आफ्नो हक भोग वा स्वामित्वमा रहेको घर रकम लिने गरी निश्चित समयका लागि कुनै व्यक्तिलाई उपयोग गर्न दिएकोमा बहालमा दिएको मानिनेछ ।

स्पष्टीकरण : यस परिच्छेदको प्रयोजनका लागि ‘घर’ भन्नाले कुनै घर, घरको तल्ला, एकाइ, कोठा वा त्यस्तो घरले चर्चेको जग्गा वा लगापातसमेत सम्झनुपर्छ, भनिएको छ । मानव बसोवास गर्न स्वास्थ्य तथा सुरक्षाका दृष्टिले अनुपयुक्त घर बहालमा लिनु दिनु गर्नु नहुने व्यवस्था दफा ३८४ मा गरिएको छ । व्यक्तिहरूका बीच घर बहाल लिँदा दिँदा बहाल अवधि बढीमा ५ वर्षको हुनुपर्ने छ तर व्यापारिक प्रयोजनका लागि घरबहाल दिएकोमा सम्झौतामा उल्लेख गरेबमोजिम हुने व्यवस्था दफा ३८५ मा गरिएको छ ।

कुनै व्यक्तिले घर बहालमा दिँदा निम्न कुराहरू खुलाई बहालमा लिने व्यक्तिसँग लिखित सम्झौता गर्नुपर्छ । यसमा घर बहाल लिने र दिने व्यक्तिहरूको पूरा नाम ठेगाना, नागरिकता नम्बर र विदेशी व्यक्ति भए राहदानी वा परिचय खुल्ने प्रमाणपत्र, घर रहेको ठाउँ र जग्गाको कित्ता नम्बर, बहाल लिने प्रयोजन, बहाल शुरू र कायम रहने समय, मासिक बहाल रकम, बहाल बुझाउने समय र प्रकृया, घरमा प्रयोग भएका बिजुली, खानेपानी, टेलीफोनको महसुल बुझाउने दायित्व, बहाल कर भुक्तानी, बीमा, घर छाड्ने र हटाउने, बहालमा लिएको घर अन्य व्यक्तिलाई पुनः बहाल दिन पाउने नपाउने र आवश्यक लागेका अन्य कुराहरू सम्झौतामा उल्लेख गरिनुपर्छ । यसका साथै मासिक २० हजार रुपैयाँसम्मको लेनदेनमा लिखत सम्झौता आवश्यक छैन भने बहाल बस्ने व्यक्तिको फोटो टाँस गर्नुपर्ने र त्यस्तो सम्झौतामा कम्तीमा २ जना साक्षीको सहीछापसमेत हुनुपर्ने व्यवस्था दफा ३८६ मा गरिएको छ ।

घर बहालमा लिनेदिने गर्दा सम्झौता गर्दाकै बखत घरधनीले बहाल दिने घरको कुनै खोट वा कमजोरी भएमा त्यसको विवरण बहालमा लिनेलाई अनिवार्य रूपमा दिनुपर्छ भन्ने व्यवस्था दफा ३८७ ले गरेको पाइन्छ ।

कुनै व्यक्तिलाई घर बहालमा दिँदा घरमा मालसामान वा कुनै वस्तुसमेत रहेछ भने बहालमा दिनुअघि घरमा रहेको सामान वा वस्तु केकस्तो अवस्थामा रहेका छन् त्यसको विवरण तयार पार्नुपर्छ । यदि बहालमा लिनेले त्यस्तो सामान प्रयोग गर्ने भए त्यस्तो सामान घर बहालमा लिनेले बुझी लिएर त्यसको भर्पाइ घरधनीलाई दिनुपर्ने व्यवस्था दफा ३८९ मा गरिएको छ ।

घरधनीले बहालमा बस्ने व्यक्तिलाई सम्झौतामा उल्लेख भएबमोजिम घर उपयोग गर्न दिनुपर्छ । सम्झौतामा अन्यथा व्यवस्था भएकोमा बाहेक पानी बिजुली र ढल निकास तथा सरसफाइको व्यवस्था घरधनीले नै गर्नुपर्छ । बहालमा बस्नेलाई सोही घरमा बस्ने अन्य व्यक्तिबाट असुरक्षा हैरानी वा अशान्ति भएमा त्यसलाई रोक्ने कार्य गर्नुपर्छ । शान्त वातावरणको व्यवस्था मिलाउने साथै सम्झौतामा उल्लिखित सबै कुरा पालना गर्नुपर्छ भनी घरधनीको दायित्वका बारेमा दफा ३८९ मा व्यवस्था गरिएको छ ।

सम्झौताबमोजिम निर्धारित समयमा बहाल रकम बुझाउनुपर्ने, बहालमा लिएको घरलाई आप्mनै घरसरह मानी सरसफाईका साथै उचित र उपयुक्त तरीकाले हेरचाह र संरक्षण तथा सुरक्षा गर्नुपर्ने, बहालमा रहेको घरका अन्य व्यक्ति वा छिमेकीलाई अशान्ति हैरानी वा असुरक्षा हुने कार्य गर्न नहुने र सम्झौतामा उल्लिखित कुराहरू पालना गर्नुपर्ने भनी बहालमा बस्नेको दायित्वको सम्बन्धमा दफा ३९० मा व्यवस्था गरिएको छ ।

बहालमा लिनेले घरधनीसँग भएको सम्झौतामा लेखिएको तरीका र प्रक्रियाबमोजिम घरधनीलाई बहाल बुझाउनुपर्छ तर कुनै तरीका र प्रक्रिया उल्लेख रहेनछ भने प्रत्येक महीना भुक्तान भएको ७ दिनभित्र बहाल बुझाउनुपर्छ, त्यसरी बुझाउँदा नगद वा चेक जे बुझाए पनि हुन्छ । घरधनीले नगद बुझेकोमा भने बुझेको भर्पाइ गरी बहाल बुझाउनेलाई दिनुपर्छ भन्ने व्यवस्था दफा ३९१ मा गरिएको छ । बहालमा लिने र दिनेका बीच विवाद नहोस् र व्यावहारिक सहजता कायम होस् भन्नका लागि यस्तो व्यवस्था गरिएको हो ।

जसले आय आर्जन गर्छ, उसले कर तिर्नुपर्छ । त्यसैले घरबहाल सम्झौतामा नै कर कसले तिर्ने हो स्पष्ट उल्लेख हुनुपर्छ । यदि उल्लेख भएको छैन भने कर तिर्ने दायित्व घर धनीकै हुने व्यवस्था दफा ३९२ ले गरेको छ ।

औद्योगिक या व्यावसायिक प्रयोजनका लागि घर बहालमा लिनेले त्यस्तो घरको सुरक्षाका लागि बीमा गराउनुपर्ने हुन्छ । औद्योगिक वा व्यावसायिक प्रयोजन भन्नाले कुनै उद्योग सञ्चालन गर्ने वा डिपार्टमेन्टल स्टोर वा एक वा एकभन्दा बढी पसल राखी व्यापार वा व्यवसाय गर्ने कार्य बुझिन्छ । प्राकृतिक प्रकोप वा अशान्ति, हूलदंगा, आगजनीजस्ता मानवीय कारणले हुनसक्ने क्षतिबाट बचाउन बीमा गर्नुपर्ने व्यवस्था दफा ३९३ मा गरिएको छ ।

सम्झौतामै बहाल लिने दिनेमध्ये कसले घरको मर्मत सम्भार गर्ने हो त्यसबारेमा स्पष्ट उल्लेख भएकोमा सोहीबमोजिम र कुनै कुरा उल्लेख भएको रहेनछ भने बहालमा लिएको व्यक्तिले नै घरको मर्मत सम्भार गर्ने दायित्व हुन्छ भन्ने व्यवस्था दफा ३९४ मा गरिएको छ ।

घर बहाल सम्झौता हुँदा बहाल लिनेले त्यस्तो घर वा त्यसको कुनै अंश अन्य व्यक्तिलाई पुनः बहालमा दिन सक्ने भन्ने उल्लेख भएको रहेछ भने बहालमा दिने र लिनेबीच भएको सम्झौताको अधीनमा रही पुनः बहालमा दिन सक्ने तर सो सम्झौताविपरीत हुनेगरी बहालमा दिन नसक्ने कुरा दफा ३९५ मा व्यवस्था गरिएको छ भने घरधनीको स्वीकृतिविना बहालमा लिएको घरको संरचना भत्काउने, बिगार्ने गरी संरचनामा हेरफेर गर्नु नहुने कुरा दफा १९६ मा गरिएको छ । घर बहाल सम्झौता गरिसकेपछि सम्झौताविपरीत घर प्रयोग गर्नु नहुने व्यवस्था दफा ३९७ मा गरिएको छ ।
जुन प्रयोजनका लागि घर बहालमा लिएको हो त्यस कामका लागि निजलाई घर नचाहिने भई घर छाड्न परेमा बस्ने व्यक्तिले कम्तीमा ३५ दिनुअगावै घरधनीलाई लिखित सूचना गर्नुपर्छ । यदि घर बहाल लिने दिने सम्झौतामा अन्यथा उल्लेख भएमा सोहीबमोजिम हुने व्यवस्था दफा ४०० मा गरिएको छ । घरबहालको अवधि समाप्त भएमा वा बहालमा बस्ने व्यक्तिले सम्झौता विपरीत कार्य गरेमा पनि घरधनीले बहालमा बस्नेलाई घरबाट हटाउन सक्ने व्यवस्था दफा ४०१ ले गरेको छ । यसरी मुलुकी देवानी संहिता २०७४ ले घर बहालका सम्बन्धमा व्यावहारिक रूपमा सहज हुने गरी छुट्टै र स्पष्ट कानूनी व्यवस्था गरेको छ ।

अन्य लेख

लेखक : चिरञ्जीवी नेपाल (लेखक अधिवक्ता हुन् )

Write A Comment

Pin It