Search for:
Home Decor

कस्तो हुन्छ मोडुलर किचन, बनाउन कति लाग्छ खर्च?

Pinterest LinkedIn Tumblr

घरको अन्य भाग जस्तै भान्सा पनि आकर्षक होस् भन्ने हामी सबैको चाहना हुन्छ। ग्राहकको यस्तै चाहना बुझ्दै निर्माण कम्पनीहरूले मोडुलर किचनका विभिन्न डिजाइन प्रस्तुत गरिरहेका छन्। पछिल्लो समय घरमा मोडुलर किचनको आवश्यकता र चाहना बढ्दै गएको निर्माण कम्पनीहरूको भनाइ छ।

हामीले मोडुलर किचन अर्थात् आधुनिक भान्साको विशेषता र निर्माण खर्चबारे विगत दस वर्षदेखि काठमाडौंमा मोडुलर किचन बनाउँदै आएका सन्दीप दाससँग कुराकानी गरेका छौं। उनी घरायसी सामग्री वितरक कम्पनी एभ्रिघर प्रालिसँग आवद्ध छन्।

उनका अनुसार आवश्यकता पूरा हुने सामान्य भान्सा पचास हजार रूपैयाँसम्ममा बनाउन सकिन्छ। तर आधुनिक, व्यवस्थित र सुविधाजनक भान्सा आवश्यकताका आधारमा तयार पारिने सन्दीप बताउँछन्।भान्सा घरको सबभन्दा फोहोर हुने स्थान पनि हो। स्वास्थ्यका दृष्टिकोणले यो स्थान सफा र चिटिक्क हुनुपर्छ। तर आधुनिक भान्सा सफा मात्र नभइ व्यवस्थित, उपयोगी र छरितो पनि हुनुपर्छ। 

कोठाको आकारका आधारमा आधुनिक भान्सा बनाउँदा लाग्ने खर्च निर्भर हुन्छ,’ सन्दीपले भने, ‘ठूलो परिवारको भान्सामा सामान धेरै हुन्छ। भान्सा पनि ठूलै बनाउनु पर्छ। भान्साको आकार र प्रयोग हुने सामग्रीले यसमा लाग्ने खर्च तय गर्छ।’

कम्तीमा चार जना परिवारका लागि आधुनिक भान्साको डिजाइन एक लाख पचास हजार रूपैयाँदेखि सुरू हुन्छ।

Modular kitchen

मोडुलर किचन बनाउँदा घरको पर्खाल प्लास्टर गरेको हुनु हुँदैन। भान्साको बिजुली प्वाइन्ट फिटिङ, धारा फिटिङ गर्नुपर्ने हुँदा प्लास्टर गरिएको भए भत्काउनुपर्छ। त्यसैले पहिले पर्खाल मात्रै लगाएर राख्नुपर्ने सन्दीप बताउँछन्। ‘फ्रिज, चिम्नी, माइक्रो ओभन राख्नेजस्ता स्थानहरू पहिल्यै डिजाइन गर्नुपर्छ। सोहीअनुसार बिजुली प्लग राख्नुपर्छ,’ उनले भने।  

निर्माण कम्पनी वा ठेकेदार छनौट गरिसकेपछि पहिले भान्सा बनाउने कोठा नापेर डिजाइन गरिन्छ। डिजाइनपछि लागत र समयको पनि सम्झौता हुन्छ। सन्दीपका अनुसार बीसदेखि तीस दिनमा मोडुलर किचन तयार पार्न सकिन्छ।’घरधनीलाई भान्साको डिजाइन देखाइन्छ। यसमा लाग्ने खर्चको विवरण पनि सँगै हुन्छ,’ सन्दीपले भने, ‘ग्राहकलाई कुनै सामान थपघट वा ब्रान्ड परिवर्तन गर्न मन भए हामीले डिजाइन परिवर्तन गराएर देखाउँछौं।’

सन्दीप आफूले तयार पारेको किचनको तीन वर्ष वारेन्टी हुने बताउँछन्। उनले भने, ‘हामीले गरेको काममा तीन वर्ष वारेन्टी हुन्छ। यो बीचमा कुनै पनि सामानमा केही खराबी आए मर्मत गरिदिन्छौं।’ 

मोडुलर किचनको विशेषताः

Modular kitchen

मोडुलर किचनमा बेग्लै स्ल्याब आवश्यक पर्दैन। यो यसको प्रमुख विशेषता पनि हो। यसको तल्लो तहमा छुट्टा–छुट्टै बाकस हुन्छन्। यस्तो बाकसको माथिल्लो भागमा ग्रेनाइटले सतह मिलाइने सन्दीपले जानकारी दिए। यो भान्सालाई एक ठाउँबाट अर्को ठाउँमा सार्न पनि मिल्छ। यो मोडुलर किचनको अर्को मुख्य विशेषता हो। 

‘अलग-अलग बाकस जोडेर बनाइने हुँदा एक ठाउँबाट अर्को ठाउँमा सार्न सजिलो हुन्छ,’ सन्दीपले भने, ‘लामो समयसम्म अरूको घर भाडामा लिएर बस्दा किचन बनाउनुभएको थियो, अब छोड्नुपर्ने अवस्था आयो भने मोडुलर किचन अर्को घरमा सार्न सकिन्छ।’ 

यो भान्साको अर्को मुख्य विशेषता मर्मतसम्भार सहज हुनु हो।

किचनको कुनै बाकस वा कुनै भागमा क्षति पुगेको भए त्यसलाई मात्रै फेर्न मिल्छ। ग्रेनाइटले बनेको स्ल्याबमा खाना पकाउने चुलो माथिबाट राख्न र स्ल्याब नै काटेर तलबाट पनि जडान गर्न मिल्छ।कम्तीमा दुई लाख रूपैयाँमा बन्ने मोडुलर किचनमा चिम्नी, चुलो, सिंक, धारा, ग्रेनाइट, क्याबिनेट, बास्केट आदिको लागत समावेश हुने सन्दीपले जानकारी दिए। 

‘यो किचनका घर्रा (ड्रयर) हरू आधुनिक हुन्छन्। कप राख्न, प्लेट, पकाउने भाँडा, भान्सामा प्रयोग भइरहने सामान, कहिलेकाहीँ प्रयोग हुने सामान राख्नका लागि अलग-अलग घर्रा हुन्छन्,’ सन्दीपले भने, ‘यो विशेषताले तपाईंको भान्सालाई सजिलो र व्यवस्थित बनाउँछ।’ 

साथै किचनबाट निस्कने फोहोरलाई सजिलै राख्न मिल्ने र बाहिर नदेखिने गरी निर्माण गरिएको हुन्छ। निर्माण कम्पनीले तय गरेभन्दा फरक सामान राख्नु परे खर्च तलमाथि हुने उनी बताउँछन्। जस्तैः धुवाँ फाल्ने चिम्नी सस्तो भए पनि हुन्छ भन्ने हो भने त्यो राख्न पाइयो। 

किचन र्‍याक बनाउन प्रयोग हुने फर्माइका पनि ग्राहकले रोज्न सक्नेछन्। भान्सामा लगाइने रङ र बत्तीहरू सुहाउँदो रोज्दा भान्सा अझै आधुनिक देखाउन सहयोगी हुन्छ।

अन्य लेख

Source: Setopati

Write A Comment

Pin It