Search for:
Construction

बढ्यो इँटाको भाउ, चार कोठे घरमा कति लाग्छ खर्च?

Pinterest LinkedIn Tumblr

निर्माण क्षेत्रमा अत्यावश्यक इँटाको भाउ थोरै बढेको छ। गत महिनाको तुलनामा इँटाको मूल्य प्रति गोटा एक रूपैयाँ बढेको इँटा व्यवसायी दीपक कुँवरले जानकारी दिए। 

हाल तराइको एक नम्बरी इँटा १६ रूपैयाँ पर्छ भने दुई नम्बरी इँटा १२ रूपैयाँ प्रति गोटा पर्छ।

‘अघिल्लो महिनाका तुलनामा तराई इँटामा एक रूपैयाँ बढेको हो। अघिल्लो महिना १५ रूपैयाँ थियो,’ अपरेटर संघ, काठमाडौंका अध्यक्षसमेत रहेका कुँवरले भने।

उनका अनुसार तराइको इँटा केही बाक्लो हुन्छ, अन्य ठाउँको अलि पातलो हुन्छ। तर अहिले सबै ठाउँका इँटाको मूल्य उस्तै–उस्तै छ। काठमाडौं, धादिङ, भक्तपुर र भकुन्डेबेसीबाट आउने इँटाको मूल्य हाल लगभग तराइकै मूल्य बराबर (साढे १५ देखि १६ रूपैयाँ प्रति गोटा) छ।

इँटाको भाउ बढ्नुको कारण?

कुँवर भन्छन्, ‘एक त बर्खामा इँटाको भाउ बढ्ने नै हो। अहिले झन् डिजेलको भाउ दिनदिनै बढेको छ। निर्माण सामग्री ढुवानी गर्ने गाडी डिजलबाटै चल्छन्। यसले पनि मूल्यमा असर पारेको छ।’

तेलको मूल्य अहिलेकै अनुपातमा बढिरहने हो भने मूल्य झन् बढ्ने उनी बताउँछन्। अन्य सामग्रीको मूल्य वृद्धि भइरहँदा आफूहरूले पहिलेकै मूल्यमा सामान ढुवानी गर्न नसक्ने व्यवसायीहरूले बताउँदै आएका छन्। त्यस्तै मजदुरको ज्याला बढेकाले पनि निर्माण सामग्रीको मूल्य घट्न नसकेको उनीहरूको भनाइ छ।

गोल्डेन निर्माण सप्लायर्स, बल्खुका सञ्चालक ऋषि खतिवडा पनि बर्खाका कारण तराइका इँटा भट्टामा जाने बाटो डुबानमा परेकाले मूल्य बढेको बताउँछन्। 

‘बर्खाका कारण हिलो भएर गाडी फस्छन्, जान सक्दैनन्,’ खतिवडाले भने, ‘तराइका इँटा भट्टा जाने बाटो डुबानमा पर्ने र बाटो पहिरोले एकतर्फी हुन्छन्। यस्तोमा ढुवानी गर्न दुई दिन लाग्नेमा चार दिनसम्म लाग्छ।’

बर्खामा इँटा उत्पादन पनि कम हुन्छ। सुरक्षित गरेर भण्डारमा राखिएका मात्रै बेचिन्छन्। यस्तोमा माग धेरै आए व्यवसायीले स्वतः मूल्य बढाउँछन् र भाउमा उतारचढाव भइरहने पनि उनले बताए।

तर बर्खामा हिउँदमा जसरी निर्माण काम हुँदैन। सामग्रीको माग पनि कम हुन्छ। हिउँदमा जस्तै काम हुने हो भने बजारमा निर्माण सामग्री निकै अभाव हुने उनी बताउँछन्।

‘अहिले पनि काम नभएर मात्रै हो चरम अभाव नभएको। नभए बर्खाले ल्याएका समस्याका कारण सामग्री अभावै छ,’ उनले भने।

त्यस्तै लकडाउनका कारण धेरै इँटा उद्योग बन्द भएका छन्। बन्द नभएका पनि कतिपय सञ्चालनमा आउन सकेका छैनन्। निर्माण क्षेत्र पनि राम्ररी चलायमान हुन सकेको छैन। पछिल्लो समय परम्परागत माटोका इँटाका विकल्पहरू पनि देखिएका छन्। प्रि–फ्याब र ब्लकहरूको प्रयोग बढ्दै जाँदा इँटा उद्योगमा चुनौती थपिएको र प्रतिस्पर्धा बढेको व्यवसायीहरूको भनाइ छ।

चार कोठाको एक तले घर बनाउँदा इँटामा कति खर्च हुन्छ?

महाशक्ति इँटा उद्योग, जगातिका सञ्चालक कृष्णप्रसाद दुवालका अनुसार इँटा कति लाग्छ भन्ने अनुमान गर्नुअघि सबभन्दा पहिले कस्तो घर बनाउने, कतिवटा झ्याल, ढोका राख्ने निधो गर्नुपर्छ। किनकी झ्याल, ढोका र घरको डिजाइनले इँटा संख्या फरक पर्छ।

छत ढलान गरी बनाइने घरमा इँटा बढी लाग्छ। यसमा आवश्यकता अनुसार तला थप्दै जान पनि सकिन्छ। त्यस्तै पर्खाल लगाएर, ढलान नगरिने, जस्ता वा अन्य छाना राखिने घरमा कम इँटा प्रयोग हुन्छ।

सहरमा ढलानबिनाका घर त्यति प्रयोगमा आउँदैन। अनि घर बनाउँदा भविष्यमा तला थप्ने विचारले बनाउँदा सही हुने दुवाल बताउँछन्।

‘ढलान गर्ने घरमा जग बलियो पार्नुपर्छ। नौ इन्चको जग अनिवार्य हुन्छ। त्यसले धेरै इँटा डिपिसीमुनि खपत हुन्छ,’ दुवालले जानकारी दिए, ‘पहिलो तला घरको आधार (मुख्य) पनि भएकाले नौ इन्चकै गारो लगाउन सुझाव दिन्छौं। यसले घरको भित्री भागलाई ओसबाट पनि जोगाउँछ।’

त्यस्तै इँटाको लागत आकलन गर्ने अर्को पाटो झ्याल र ढोका हुन्। 

कुनै कोठामा तीन वटासम्म झ्याल राख्न मिल्ने हुन्छ। यस्तो कोठामा इँटा कम लाग्छ। त्यस्तै कुनै कोठामा दुइटा ढोका चाहिने हुँदा सोहीअनुसार इँटाको लागत अनुमान गर्नुपर्ने दुवाल बताउँछन्। 

‘तर कम खर्चमा घर बनाउन इँटा मात्रै कम गर्न खोजेर हुँदैन। झ्याल-ढोका पनि आवश्यकता अनुसार मात्रै राखे राम्रो,’ उनी भन्छन्, ‘इँटाको लागत घटाउन खोज्दा झ्यालको लागत बढी हुन गयो भने योजना असफल हुन्छ।’

प्रत्येक कोठामा दुइटा झ्याल, एउटा ढोका राखेर नौ इन्चको गारो लगाउँदा करिब २८ हजार इँटा माग गर्नुपर्ने दुवालको अनुभव छ। 

‘कोठाको आकारअनुसार थोरै घटबढ भए पनि सामान्यतया ढलान गरेको चार कोठे घर बनाउन एक नम्बरी २८ हजार इँटा भए पुग्छ,’ दुवाल भन्छन्, ‘कम्पाउन्ड र बाँकी कामका लागि भने थप्नु पर्छ।’

यो त भयो ढलान गरी बनाइएको घरमा इँटाको लागत। पर्खाल मात्रै लगाएर ढलान नगरी घर बनाउने हो भने आठ/दस हजार इँटामै काम सकिने उनले बताए।

‘पर्खाल मात्र लगाउनु पर्ने घरको जगमा धेरै इँटा लाग्दैन। भित्री पर्खालमा पनि सिमेन्टको जोडाइमा पाँच इन्च गारो लगाए हुन्छ। आधाभन्दा कम इँटा खपतमा घर बनाउन सकिन्छ,’ उनले भने, ‘गाउँघरतिर बनाइने घरमा यो तरिका अपनाइएको हुन्छ।’

अहिलेको समयमा काठमाडौं उपत्यकामा एक नम्बरी इँटा प्रतिगोटा १६ रूपैयाँ पर्छ। माथिको अनुमान अनुसार हिसाब गर्दा ढलान गरिने चार कोठे घर बनाउन साढे चार लाख रूपैयाँ बराबरको इँटा किन्नुपर्ने देखिन्छ।

त्यस्तै पर्खाल मात्रै लगाएर चार कोठे घर बनाउन इँटामा करिब एक लाख पचास हजार रूपैयाँ अनुमान गर्नुपर्छ।

इँटाको मूल्य फरक पर्दा अनुमानित रकम तलमाथि हुन सक्छ।

खर्च कम गर्न घरमा दुई नम्बरी इँटा पनि प्रयोग गर्न सकिन्छ। दुई नम्बरी इँटा अहिले १२ रूपैयाँ प्रति गोटामा पाइन्छ। चार कोठाको एक तले ढलान घरमा दुई नम्बरी इँटा राख्दा साढे तीन लाख रूपैयाँ हाराहारी मात्र पर्न आउँछ। ढलान नगरिएको घरमा पनि एक लाख बीस हजारका इँटा भए पुग्छ।

तर घर बनाउँदा सम्झौता नगर्न दुवालको सुझाव छ। 

‘इँटाका प्रकारमध्ये रातोमाटो पोलेर बनाइने एक नम्बरीलाई सबभन्दा राम्रो मानिन्छ। यसमा कुनै समस्या छैन,’ दुवाल भन्छन्, ‘दुई नम्बरी इँटा सस्तो परे पनि गुणस्तर कम हुन्छ।’ 

अन्य लेख

श्रोत : सेतोपाटि

Leave a Reply

Pin It