खानेकुराको शुद्धतामाथि हामी जहिले पनि सशंकित हुनुपर्ने अवस्था छ । बजारमा उपलब्ध खानेकुरामा निर्भर हुँदा हामी त्यसको शुद्धतामा ढुक्क हुन सकिरहेका छैनौं ।
कुनैपनि खानेकुराको शुद्धता र गुणस्तर जाँच गरेर खरिद गर्ने परिपाटी छैन । त्यसैले बजारमा म्याद गुज्रिएका खाद्यवस्तु छ्यापछ्याप्ती हुने गर्छ । यस्ता खानेकुराले हाम्रो शरीरलाई पोषण दिने होइन, बरु अरु रोगी बनाउने जोखिम छ ।
हामी स्वस्थ्य जीवनको लागि खानेकुरा सेवन गर्छौ । हाम्रो खानामा प्रोटिन, बोसो, कार्बोहाइड्रेट, भिटामिन, खनिज, लवण आदि सामेल हुनुपर्छ । यी सबैको सन्तुलनले नै शरीर स्वस्थ्य हुने हो । यद्यपि अहिले खानेकुरामा अनेकौ बस्तुको मिसावट हुन्छ । त्यसले गर्दा खानेकुराबाट जे प्राप्त गर्नुपर्ने हो, त्यो त प्राप्त हुँदैन नै । बरु, त्यसले शरीरमा प्रतिकुल असर पुग्छ ।
व्यापारीले बढी मुनाफा आर्जन गर्ने हेतुले खानेकुरामा विभिन्न किसिमका अखाद्य तत्व मिसाउने गर्छन् । यस्तो मिसावट हामीले दैनिक प्रयोग गर्ने खाद्यपदार्थमा हुन्छ । जस्तो कि, घिउ, दुध, दही, चामल, दाल, तेल, मसला, मिठाई ।
खानेकुराको सोझो सम्बन्ध हाम्रो स्वस्थ्यसँग हुन्छ । त्यसैले हामी जे खान्छौ, त्यसको असर शरीरले झेल्नुपर्छ । यस हिसाबले अखाद्य पदार्थको सेवनले शरीरमा बिकार बढाउँछ । त्यसले रगत अशुद्ध बनाउँछ । पाचन यन्त्रमा असर गर्छ । मिगौला, कलेजो जस्ता भित्री अंगको कार्यक्षमता कमजोर बनाउन सक्छ ।
कसरी जोगिने ?
खाद्यपदार्थ खरिद गर्दा त्यसको गुणस्तरमा ध्यान दिनुपर्छ । सामान्यतः चामल, गेडागुडीमा मिसावट छ÷छैन भन्ने कुरा सहजै जाँच्न सकिन्छ । त्यस्ता खानेकुरामा ढुंगा लगायत मिसाइएको हुन्छ । जथाभावी तेल, घिउ खरिद गर्नु हुँदैन । आफुले प्रयोग गरिरहेको ब्रान्ड वा कम्पनीको खाद्य वस्तु खरिद गर्नुपर्छ, जसको गुणस्तरमा आफु ढुक्क हुन सकिन्छ ।
त्यस्तै कतिपय खानेकुरामा मिसावट भएको जाँच गर्ने विधी छ । दुध, तेल, बेसार आदिमा भएको मिसावटबारे घरमै जाँच गर्न सकिन्छ ।
बेसार
हरेक छाकमा प्रयोग हुने बेसार शुद्ध हुन्छ भन्ने छैन । बजारबाट खरिद गरेर प्रयोग गरिने बेसारमा मेटानिल येलो नामक रसायन मिसाइन्छ । जबकी यो क्यान्सर जस्तो भयानक रोगको कारण समेत बन्न सक्छ ।
बेसार पाउडरमा केहि थोपा हाइड्रोक्लोरिक एसिड र उत्तिनै थोपा पानी हालेर जाँच्नुपर्छ । यदि बेसार गुलाबी वा बैजनी रंगको भयो भने, त्यो मिसावट भएको हुनसक्छ ।
दुध
दुध वा अन्य दुधजन्य उत्पादनमा मिसावटको एकदमै संभावना हुन्छ । सामान्यत दुधमा पानी मिश्रण गरिन्छ । यदि पानी शुद्ध छ भने त त्यो जटिल समस्या भएन । यदि पानीको ठाउँमा यूरिया, रंग वा वाशिङ पाउडर मिसाइयो भने त्यो स्वास्थ्यका लागि घातक हुनसक्छ ।
सामान्य विधी अनुसार दुधको केहि थोपालाई सफा वा चिल्लो स्थानमा चुहाउनुपर्छ । त्यो थोपा बिस्तारै चुहियो र सफा दाग रह्यो भने, दुध शुद्ध हुन्छ ।
दुधमा पानी मिसाइएको छ, छैन भनेर जाँच्ने माध्याम हो ल्याक्टोमिटर । यसको रिडिङ २८ देखि ३४ हुनुपर्छ । यदि यो रिडिङ २८ भन्दा कम आयो भने त्यसमा पानी मिसिएको हुनसक्छ । त्यसो त ल्याक्टोमिटरमा रिडिङ बढाउनका लागि पनि दुधमा यूरिया, चिनी, वाशिङ पाउडर मिसाउने गरिएको छ । यसको जाँच दुधमा आयोडिन मिसाएर गर्नुपर्छ । यदि दुधको रंग निलो भयो भने त्यसको अर्थ हो, दुधमा स्टार्च मिसाएको छ । दुध जति नै अल्कोहल मिसाउँदा त्यो फाट्यो भने दुधमा मिसावट भएको बुझिन्छ
घिउ
घिउमा बनस्पती घिउ मिसाउने संभावना हुन्छ ।
घिउमा मिसावट जाँच्नका लागि १० सिसी हाइड्रक्लोरिक अम्ल र एक चम्चा चिनी मिसाउनुपर्छ । यस मिश्रणमा १० सीसी घिउ मिसाउनुपर्छ । अब उक्त मिश्रणलाई राम्ररी हल्लाउने । यदि मिश्रणको रंग रातो भयो भने घिउमा मिसावट हुन्छ । रंग बद्लिएन भने घिउ शुद्ध छ ।
धूलो खुर्सानी
दैनिक भान्सामा बजारमा पाइने रातो धूलो खुर्सानी खरिद गर्छौं । यस्तो खुर्सानीमा मिसावटको अधिक संभावना हुन्छ । खासगरी रातो खुर्सानीको धुलोमा इटाको धुलो मिसाउने गरिन्छ । साथै अन्य कृतिम रंग मिश्रण गरेर त्यसलाई रातो बनाउने गरिन्छ ।
एउटा कचौरामा पानी राख्ने । त्यसमा खुर्सानीको धुलो हाल्ने । यदि पानीमा त्यो खुर्सानीको पाउडर तैरियो भने, शुद्ध हो । डुब्यो भने त्यसमा मिसावट भएको हुनसक्छ ।
श्रोत: Onlinekhabar