Search for:
Market News

जीडीपीमा घरजग्गा क्षेत्रको योगदान, २० वर्षमा ३६ अर्बबाट साढे ३ खर्ब पुग्यो

Pinterest LinkedIn Tumblr

२० वर्षअघि कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा घरजग्गा कारोबार (रियलस्टेट)को योगदान ३६ अर्ब मात्रै थियो। अहिले त्यो बढेर साढे ३ खर्ब पुगेको छ।

आर्थिक वर्ष २०५८/०५९ मा नेपालको जीडीपीको आकार ४ खर्ब ५९ अर्ब रुपैयाँको हुँदा यो क्षेत्रले ३६ अर्बको योगदान गरेको थियो।

तर चालू आर्थिक वर्षसम्म आइपुग्दा ४२ खर्ब ६६ अर्ब रुपैयाँ पुगेको जीडीपीमा घरजग्गा क्षेत्रले ३ खर्ब ५२ अर्ब योगदान गरेको देखिएको छ।

तथ्यांक विभागले अघिल्लो वर्ष माइनसमा गएको अर्थात् ऋणात्मक आर्थिक वृद्धिदर यो वर्ष करिब ४ प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान गरेको छ।

गत वर्ष आर्थिक वृद्धिदर घटे पनि घरजग्गा कारोबार वृद्धिदर भने घटेको थिएन।

अघिल्लो वर्ष घरजग्गा कारोबार वृद्धिदर २.३७ प्रतिशत रहेकोमा चालू आर्थिक वर्षमा २.६४ प्रतिशतले बढ्ने तथ्यांक विभागको अनुमान छ।

विभागले चालू आर्थिक वर्षको चैत महिनासम्मको तथ्यांक विश्लेषण तथा आगामी ३ महिनाको अनुमानको आधारमा उक्त तथ्यांक प्रस्तुत गरेको हो।

दश वर्ष पहिले अर्थात् आर्थिक वर्ष २०६८/०६९ मा १.४१ प्रतिशतले बढेको रियल स्टेट (घरजग्गा) कारोबार २०६९/०७० मा १.८८ प्रतिशत पुगेको थियो।

त्यसयताका आवहरु २०७०/०७१ मा १.६१ र २०७१/०७२ मा १.५० प्रतिशतले घरजग्गा कारोबार बढेको देखिन्छ।

नाकाबन्दी तथा भूकम्प लगायतको कारण २०७२/०७३ मा आर्थिक वृद्धिदर शून्य दशमलव ४३ प्रतिशत मात्रै रहेको थियो। उक्त वर्ष घरजग्गा कारोबार वृद्धिदर पनि शून्य दशमलव ३९ प्रतिशत रहेको विभागको तथ्यांकले देखाएको छ।

नेपालको सर्वाधिक आर्थिक वृद्धि स्थिर मूल्यको आधारमा ८.९८ प्रतिशत भएको वर्ष २०७३/०७४ मा शून्यबाट बढेर ४.५ प्रतिशत पुगेको घरजग्गा कारोबार २०७४/०७५ मा फेरि घटेर १.५६ प्रतिशतमै सीमित भयो।

२०७५/०७६ मा सहरी क्षेत्रमा घरजग्गाको कारोबार ३.७५ प्रतिशतले बढेको थियो। त्यस्तै २०७६/०७७ मा फेरि २.७ प्रतिशतमा झर्यो। उक्त वर्ष कुल गार्हस्थ्य उत्पादन नै करिब माइनस २ मा झर्दा पनि घरजग्गा कारोबार वृद्धि राम्रै रह्यो।

चालू आर्थिक वर्षमा राम्रै भइरहेको अवस्थामा कोभिडको दोस्रो लहर फैलिँदै जाँदा निषेधाज्ञाको कारण चालू आर्थिक वर्षको अनुमान पनि घट्ने देखिन्छ।

विभागले १५ दिनसम्मको निषेधाज्ञाले हालको तथ्यांकमा धेरै फरक नपारे पनि निषेधाज्ञा थपिँदै जाँदा कारोबार घट्दै जाने उल्लेख गरेको छ।

जीडीपीमा घरजग्गा कारोबारको कति योगदान ?
तथ्यांक विभागले हालै सार्वजनिक गरेको आँकडाअनुसार चालू आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादनमा घरजग्गा कारोबार क्षेत्रले ९.४३ प्रतिशत योगदान दिएको प्रारम्भिक अनुमान गरेको छ।

३९ खर्ब १४ अर्बको कुल गार्हस्थ्य उत्पादन रहेको आर्थिक वर्ष २०७६/०७७ मा ३ खर्ब १७ अर्ब योगदान अर्थात् घरजग्गा कारोबारले ९.१८ प्रतिशत योगदान गरेको थियो।

अघिल्ला वर्षहरुको तुलनामा पछिल्ला दुई वर्षमा घरजग्गा कारोबारको कुल गार्हस्थ्य उत्पादनमा योगदान घटेको देखिन्छ। पहिला कुल गार्हस्थ्य उत्पादनको ११ प्रतिशत बढी हिस्सा रहेकामा अहिले ९ प्रतिशत हाराहारीमा झरेको हो।

आर्थिक वर्ष २०७५/०७६ मा ३८ खर्ब ५८ अर्बको जीडीपी हुँदा रियलस्टेटले २ खर्ब ९५ अर्ब रुपैयाँ योगदान गरेको थियो। यो भनेको कुल जीडीपी आकारको ११.५८ प्रतिशत हिस्सा हो। खासगरी सहरी क्षेत्रमा घरजग्गा कारोबारमा आएको बढोत्तरीले यस क्षेत्रको योगदान बढेको हो।

आर्थिक वर्ष २०७४/०७५ मा यो क्षेत्रले ३४ खर्ब ५५ अर्बको जीडीपीमा ११.३२ प्रतिशत योगदान गरेको थियो। अर्थात् जीडीपीको कुल आकारमध्ये २ खर्ब ६४ अर्ब अंश घरजग्गा कारोबारको थियो।

आर्थिक वर्ष २०७३/०७४ मा नेपालको कुल जीडीपी ३० खर्ब ७७ अर्बको थियो। उक्त वर्ष घरजग्गा कारोबारको योगदान २ खर्ब ४४ अर्ब अर्थात् ११.९ प्रतिशत हिस्सा रहेको थियो।

भूकम्प र नाकाबन्दीको समयमा पनि कुल गार्हस्थ्य उत्पादनमा घरजग्गा कारोबारको राम्रो योगदान रहेको देखिन्छ। भूकम्पको कारण अपार्टमेन्टलगायत ठूला रियल स्टेटको कारोबार ठप्पै भए पनि २०७२/०७३ मा २ खर्ब १६ अर्ब र २०७१/०७२ मा १ खर्ब ९१ अर्ब कुल जीडीपीमा योगदान रहेको छ।

भूकम्पअघिका वर्षहरुमा हरेक वर्ष जीडीपीमा १० अर्बको हाराहारीमा वृद्धि भएको देखिन्छ। आर्थिक वर्ष २०६७/०६८ मा १५ खर्ब ६२ अर्बको जीडीपीमा यो क्षेत्रले १ खर्ब ४३ अर्ब योगदान गरेको थियो।

त्यस्तै, घरजग्गा कारोबार २०६८/०६९ मा १ खर्ब ५४ अर्ब पुगेको थियो।

त्यसैगरी आर्थिक वर्ष २०६९/०७० मा १ खर्ब ७४ अर्ब र आव २०७०/०७१ मा १ खर्ब ८६ अर्ब योगदान घरजग्गा कारोबारको रहेको छ।

Source: https://nepalkhabar.com/economy/56669-2021-05-02-11-26-13

Write A Comment

Pin It