Search for:
Market News

नौविसे-नागढुङ्गा सुरुङ्ग मार्ग- पहाड काट्दा बस्ती नै बग्न थाल्यो

Pinterest LinkedIn Tumblr

नौविसे-नागढुङ्गा सुरुङ्ग मार्ग निर्माणका क्रममा काटिएको पहाडका कारण बस्ती नै बग्न थालेपछि धुनिवेसी नगरपालिकाको खत्री पौवा गाउँ पहिरोको उच्च जोखिममा परेको छ ।

गाउँका धेरै घर परिवार विस्थापित भइसकेका छन् भने अन्य केहीलाई सुरक्षित स्थानमा स्थान्तरणको काम तत्काल गर्न लागिएको नगरपालिकाले जनाएको छ ।

आयोजनाका कारण बस्ती जोखिममा परेको भन्दै तत्काल आयोजनाले उचित क्षतिपूर्तिसहित बस्ती स्थान्तरणमा सहयोग नगरे काम नै ठप्प बनाउने चेतावनी स्थानीय तहले दिएको छ ।

त्रिभुवन राजपथको खत्री पौवामा सडक फराकिलो बनाई निर्माण कार्य गरिरहँदा केही दिनदेखि परेको अविरल वर्षाका कारण जमिन पुरै भासिँदै गई गाँउ नै बग्न सुरु गरेको हो ।

पहिरोले गर्दा उक्त स्थानमा त्रिभुवन राजपथ पनि उच्च जोखिममा रहेको छ । पहिरोग्रस्त क्षेत्रमा धादिङ जिल्लाका प्रमुख जिल्ला अधिकारी सहितको एक टोलीले अनुगमनसमेत गरेको छ ।

सो स्थानमा बस्न मानिसहरुलाई निकै जोखिम भएकोले तत्कालका लागि अन्यत्र स्थानानन्तरण गर्ने प्रमुख जिल्ला अधिकारी ज्ञान प्रसाद ढकालले जानकारी दिए ।

यसो त धुनिवेसी नगरपालिकाले भने आफ्नो स्थानीय तह भित्र आयोजनाले लापरवाही गरी जथाभावी खनेकोले यस्तो अवस्था आएको भन्दै पहिरो पिडित स्थानीयहरुलाई सुरक्षित स्थानमा सार्नुका साथै उचित क्षतिपूर्तिको ब्यवस्थाको माग गरेको छ ।

अन्यथा राष्ट्रिय महत्वकै आयोजना भए पनि सो क्षेत्रमा काम गर्न नदिने चेतावनी धुनिवेशी नगरपालिकाका मेयर बालकृष्ण आचार्यले दिएका छन् ।

आयोजनाको काममा स्थानीय तहले पनि सहयोग गर्ने बताउँदै उनले निर्माणका क्रममा कन्सल्ट्याण्टको लापरवाहीले गर्दा यस्तो अवस्था आएको बताए । 

साभार: नेपाल टेलिभिजन 

Write A Comment

Pin It