Search for:
Market News

घरका साना-ठूला समस्या समाधान गरिदिने ‘औजार’

Pinterest LinkedIn Tumblr

आफू घरमा नभएका बेला पानीको पाइप फुटेर ट्यांकी रित्तियो। अब के गर्ने? वा ढल जाम भएर शौचालय जानै नमिल्ने भयो। भन्ने बित्तिकै कसलाई बोलाउने? बनाउने मान्छे कतिबेला आउने हो टुंगो हुँदैन। बनाउनेले कस्तो काम गर्ने हो, त्यो पनि थाहा हुँदैन। 

यस्तो आपत अवस्थामा ‘औजारः एक सोलुसन’ ले समाधान गरिदिन सक्छ। यो घरको साना–ठूला समस्या समाधान गर्ने मर्मत कम्पनी हो। 

घर, अफिस, पसल वा अन्य ठाउँमा बिजुलीको लाइन बिग्रिए, खानेपानी वा ढलको पाइप जाम भए वा फुटे, फोन गरे मात्र कम्पनीका कर्मचारी घरमै आइपुग्छन्। र, सकेसम्म छिटो समस्या समाधान गरिदिने कम्पनीका प्रवन्ध निर्देशक उत्सव भट्टराई बताउँछन्।  

‘घरमा ठूलो रकमको काम पर्‍यो गर्न जति पनि मान्छे पाइन्छ। तर सानो काम, तुरून्तै गर्नुपर्दा कामदार पाउन मुश्किल पर्छ। हात जोड्दा पनि बोलाएको दुई दिनपछि मात्रै आइपुग्छन्,’ काठमाडौंमा यस्ता समस्याबारे जानकार उत्सव भन्छन्, ‘हामी फोन गरेको एक घन्टाभित्र घरमा पुग्छौं। सकेसम्म छिटो समस्या समाधान गर्छौं। समस्या बढ्न दिँदैनौं।’

मानौं पानी चुहिएर ट्यांकी खाली भयो, तर कहाँबाट चुहिएको हो, पत्तो पाउन सकिएन। घरमा भएका मान्छेलाई छिनछिनमा पानी चाहिन्छ। धारामा आउने भएपछि भरेर राखिएको पनि हुँदैन। त्यतिबेला पर्ने आपत स्वयं घरधनीलाई मात्रै थाहा हुने उनी बताउँछन्। 

‘यो सानो उदाहरण हो। अफिस, होटलहरूमा यो समस्याले हैरान पारेको हुन्छ। ढल थुनिने समस्या उस्तै छ। चाडवाड वा बिदाको समयमा अझै गाह्रो छ,’ उत्सव भन्छन्, ‘हामी ग्राहकको समय र सुविधा अनुसार सातै दिन, चौबीस घन्टा उपस्थित हुन्छौं।’

औजारः एक सोलुसन गत साउनबाट सुरू भएको नयाँ कम्पनी हो। कोरोना महामारी र लकडाउनबीच खुलेको कम्पनीले काम सुरू गरेको भने छ महिना मात्रै भएको उत्सव बताउँछन्। योबीचमा कम्पनीले पाँच सयदेखि २५ लाख रूपैयाँसम्मको काम गरिरहेको उनले बताए।

यसले काठमाडौंमा मर्मत सम्बन्धी संस्थाको आवश्यकता बुझाएको उनको भनाइ छ।

उनी भन्छन्, ‘छोटो समयले नै बजारमा हामीजस्ता काम गर्ने कम्पनीको आवश्यकता महशुस गराएको छ। यसले हामीलाई अझै प्रतिबद्ध बनाएको छ।’

नयाँ तथा पुराना घर, अफिस, अपार्टमेन्ट मर्मत, सरसफाइ, कोठा छुट्याउने, रंगरोगन, गार्डेनिङसहित कम्पनीले अहिले २२ प्रकारका सेवा दिइरहेको छ।

यति मात्रै होइन, फेर्नुपर्ने सामान छ भने कम्पनीका प्रतिनिधिले नै घरधनीलाई विभिन्न उपाय र विकल्प सुझाउँछन्। ग्राहकको सहमतिपछि कम्पनीका प्राविधिकले सामान ल्याएर जडान गरिदिन्छन्।

उत्सवका अनुसार यसरी राखिएका सामानमा कम्पनीले वारेन्टी पनि दिन्छ। कम्पनीले राखेको सामानमा केही खराबी आए वा वारेन्टी समयभित्र बिग्रिए नयाँ राखिदिने व्यवस्था छ।

‘कुनै घरमा राखेको पार्केटमा समस्या आयो भने त्यसलाई मर्मत गर्ने कि, निकालेर सफा गर्ने वा नयाँ राख्ने भनेर तीन वटा विकल्प हुन्छ। नयाँ राख्ने हो र सामान पनि हामीले नै ल्याइदिनुपर्छ। यसका लागि ग्राहकलाई नमूना देखाउँछौं,’ उत्सवले भने, ‘सकेसम्म गुणस्तरीय राख्न सल्लाह दिन्छौं।’ 

संस्थासँग सहकार्य गर्दा ठगिने सम्भावना कम हुने बताउँदै उनी थप्छन्, ‘सामानको गुणस्तरबारे हामी अलि बढी जानकार हुन्छौं। अनि आफू र ग्राहक ठगिने सम्भावना पनि कम हुन्छ।’

कम्पनीले ग्राहकलाई सुरक्षा र विश्वासको वातावरण बनाइरहेको उत्सवको भनाइ छ।

औजार कम्पनीको कार्यालयमा १२ जना र सम्पर्कका माध्यमबाट काम गर्ने समेत गरी ५५ जनाको टिम छ। सरकारबाट मान्यता प्राप्त र विद्यालयबाट विभिन्न तह पास गरेका प्राविधिकहरूसँग आफूले काम गरिरहेको उत्सवले बताए। 

‘इञ्जिनियर, सिटिइभिटीबाट लेभल वान, लेभल टु गरेका दक्ष कामदारहरू छन्,’ उनले भने, ‘अहिले काठमाडौंका घर मर्मतसम्भारमा यति जनशक्तिले भ्याएको छ। कामको चाप बढ्दै जाँदा कामदार पनि थप्नेछौं।’

बजारमा छरिएर रहेका कामदारलाई संस्थागत गर्न भने त्यति सजिलो नभएको उनी बताउँछन्। कम्पनीले कर्मचारीलाई सञ्चयकोष, दुर्घटना बीमा, उपचार लगायत सेवा–सुविधा दिएको पनि उनको दावी छ।

‘कुनै प्राविधिकले व्यक्तिगत रूपमा काम गर्दा यी सुविधा पाउनुहुन्न। संस्थाले दिएको छ। यति कुरा बुझाउन गाह्रो भइरहेको छ,’ उनले भने, ‘साधारण हिसाबले काम गर्न जाँदा घरधनीको हेपाहा प्रवृत्ति झेल्नुपर्छ। संस्थाको कार्ड, ज्याकेट, सेफ्टी ह्याट लगाएर जाँदा कामदारले छुट्टै सम्मान पाएका छन्।’

संस्थामा जोडिन आग्रह गर्दै उनी थप्छन्, ‘हातमा सीप छ भने हामीसँग जोडिनुहोस्। ४०–५० हजार कमाउन खाडी जानुपर्दैन। आज काम पाइएन भनेर निराश हुनु पनि पर्दैन।’ 

कम्पनीले अहिले बालुवाटारमा मुख्य कार्यालय बनाएर काठमाडौं उपत्यकाभरी काम गरिरहेको छ। त्यस्तै पोखरा र चितवनमा पनि सेवा सुरू गरिसकेको उत्सवले बताए। 

‘देशभरी नै घर छन्, समस्या पनि देशभरी छ। विस्तारै सातवटै प्रदेशमा शाखा विस्तार गर्दैछौं,’ उनले भने।

औजार कम्पनी ६ जना मिलेर स्थापना गरेका हुन्। आफूले गर्न चाहेको काम अन्य व्यक्ति मातहत बसेर पूरा नभएपछि आफैं कम्पनी खोल्ने निर्णय गरेको उत्सव बताउँछन्।

‘म सेल्स-मार्केटिङ क्षेत्रबाट आएको हुँ। हामी सबै संस्थापक साथीसँग केही न केही ज्ञान, सीप, क्षमता छ। तर हामीले चाहेको काम आफ्नो हिसाबले गर्न पाएनौं,’ उत्सवले भने, ‘हरेक घरमा समस्या छ भन्ने पनि थाहा थियो। यो समस्या हामीले नै समाधान गर्ने ठानेर बजारमा आएका हौं।’

Source: setopati.com

Write A Comment

Pin It