Search for:
Tips & Advice

सबैले जान्नैपर्ने भवन मापदण्ड सम्बन्धी महत्वपूर्ण शब्दावली के के हुन जानुहोस् ।

Pinterest LinkedIn Tumblr

असम्बद्ध भवन : एक आपसमा नजोडिएका भवन वा संरचना ।

आंशिक निर्माण सम्पन्न : उपयोग गर्न मिल्ने गरी न्यूनतम १ तला निर्माण भएको भवन ।

आधारभूत निर्माण मापदण्ड : नगर विकास ऐन २०४५, भवन ऐन २०५५ र भवन संहिता, २०६० अनुरुपका व्यवस्थाहरुलाई कार्यान्वयनमा ल्याउन तयार गरिएको बस्ती विकास, सहरी योजना तथा भवन निर्माण सम्बन्धी आधारभूत निर्माण मापदण्ड, २०७२ ।

आर्किटेक्ट र इन्जिनियर : नेपाल इन्जिनियरिङ्ग परिषद्मा दर्ता भइ इन्जिनियरिङ्ग व्यवसाय गर्ने अनुमति प्राप्त विशेषज्ञ ।

आवासीय घनत्व : कुनै निश्चित क्षेत्रमा भएको घरको सङ्ख्या ।

क” वर्गका भवन : भवन ऐन, २०५५ को दफा ८ (क) अनुसारको अत्याधुनिक प्रविधि अपनाइ निर्माण हुने वा भएका भवन । क वर्गका भवन अन्तर्गत विशेष प्रकारका ठूला भवन तथा संरचनाहरु पर्दछन् । यस सम्बन्धी व्यवस्था गरिएको छ ।

कर्नर प्लट : दुई वा सोभन्दा धेरै बाटोहरु एक आपसमा काटिएको जक्सनमा परेको र त्यस्ता बाटाहरु पट्टि मोहडा भएको प्लट ।

किरण सतह : सेटव्याक रेखा माथि सडकको अधिकार क्षेत्र र दुवै तर्फको सेटव्याक जोड्दा हुन आउने योगफलको दुई गुणा उचाइबाट सडकको अर्को तर्फको सेटव्याक रेखा जोड्ने काल्पनिक सतह ।

कोठाको उचाइ : तयारी भुँइको सतहदेखि माथि तयारी सिलिङ्गको सतहसम्मको दूरी ।

ख वर्गका भवन : भवन ऐन, २०५५ को दफा ८ (ख) अनुसारको भुँइ तलाको क्षेत्रफल १००० वर्गफिट भन्दा बढी क्षेत्रफल, ३ तलाभन्दा अग्लो वा स्ट्रक्चरल स्पान ४.५ मिटर भन्दा बढी भएको भवन । ख वर्गका भवन निर्माणको नक्सा बनाउँदा वा भवन निर्माण गर्दा नेपाल इन्जिनियरिङ काउन्सिलमा दर्ता भएको इन्जिनियर वा आर्किटेक्टबाट मात्र गराउनु पर्दछ । यस्ता भवन निर्माण गर्दा NBC 101-114 / NBC 206-208 का प्रावधान पालन गर्नु पर्दछ ।

खुला भाग : प्लटमा अगाडी पछाडी र दायाँ बाँया सेटब्याकको रुपमा खुला छाडिएको र आकासतर्फ खुला रहेको भाग । यस शब्दले बस्ती विकास क्षेत्र भित्र अत्यावश्यक सार्वजनिक पूर्वाधार सेवा विस्तार गर्न बाहेक कुनै भौतिक संरचना निर्माण गर्न निषेध गरिएको क्षेत्र समेत जनाउँदछ ।

“ग” वर्गका भवन : भवन ऐन, २०५५ को दफा ८ (ग) अनुसारको भुँइ तलाको क्षेत्रफल १००० वर्ग फिटसम्म र उचाइ ३ तलासम्म वा स्ट्रक्चरल स्पान ४.५ मिटर भन्दा कम भएका पिल्लरवाला वा सिमेन्ट प्रयोग गरिएका गारोवाला भवनहरु । ग वर्गका भवन निर्माण गर्दा NBC 201, 202 र 205 का प्रावधानहरुको पालना गर्नु पर्दछ ।

ग्यालरी : भुँइको क्षेत्रफलमा बस्ने सुविधामा वृद्धि हुने गरी कुनै सभाकक्ष वा हलको गारोबाट बाहिरपट्टि निकालेर बनाइएको बीचमा पर्ने भाग ।

“घ” वर्गका भवन : भवन ऐन, २०५५ को दफा ८ (घ) अनुसारको क, ख, र ग वर्गमा नपरेका ईंटा, ढुङ्गा, माटो, बाँस, खर, आदि प्रयोग गरी निर्माण भएको अधिकतम दुई तले भवन । घ वर्गका भवन निर्माण गर्दा NBC 203 / 204 का प्रावधानहरु पालना गर्नु पर्दछ ।

चोक : जमिनको सतह वा सोभन्दा तल वा माथि, पुरा वा आंशिक रूपमा भवन वा पर्खालले घेरेको निर्माणभित्र वा बाहिर रहेको र आकासतर्फ खुला रहेको भाग ।

छेका : कुनै पनि भवन वा निर्माणका बीचका भागहरु छुट्याउनका निमित्त कुनै पनि प्रकारको भार नलिने गरी बढीमा एक तला सम्मको उचाइ मात्र हुने गरी उठाइने वा लगाइने वार वा गारो आदि ।

जग्गा उपयोग प्रतिशत : भवनको भुँइ तलाको क्षेत्रफल र भवन बन्ने जग्गा वा घडेरीको क्षेत्रफलको अनुपातलाई १०० ले गुणा गर्दा हुन आउने प्रतिशत ।

जोडिएको भवन : वेग्लावेग्लै स्वामित्व भएको एक आपसमा भारबहन अङ्गहरु संयुक्त रूपमा निर्माण भएको भवनहरु ।

झ्याल : कुनै पनि भवन वा निर्माणको भित्री भागलाई आवश्यक पर्ने प्राकृतिक उज्यालो र भेन्टिलेसनको लागि बनाइएको ढोका बाहेकको खुला भाग ।

टाँसिएको भवन : जग्गाको साँध सिमानामा टाँसेर बनाउन प्रस्ताव गरिएको वा बनाएको भवन ।

डवल फ्रन्टेज प्लट : कर्नर प्लट बाहेक दुईवटा बाटोहरु तर्फ मोहडा भएको प्लट ।

डेउढी : कुनै पनि भवनको प्रवेशद्वार अगाडि पट्टि माथिबाट ढाकेर बनाइएको भाग ।

तला : भवन वा निर्माणको दुई भँुइहरु वा छाना बीचको भाग ।

थप वा परिवर्तन : मापदण्डमा भएअनुसार क्षेत्रमा परिवर्तन वा उचाइमा परिवर्तन वा भवनको कुनै भाग हटाउने वा कुनै गारो अथवा त्यसको भाग काट्ने र झ्याल, ढोका, दलान जडान गर्ने, छेकवार लगाउने कलम, बीम, भुँइ वा आवत जावतका कुनै पहुँचलाई बन्द वा परिवर्तन गर्ने कार्य ।

निकास : वर्षाको पानी, ढल वा प्रयोग गरिएको पानीको निकासको लागि बनाइएका नाली ।

निजी ग्यारेज : कुनै पनि प्रकारका निजी बाहनहरु पार्किङ्ग गर्नको निमित्त बनाइएको वा प्रयोग गरिएको भवन वा त्यसको भाग ।

नियन्त्रित भौतिक योजना : नियन्त्रित रूपमा मात्र प्रयोग हुने, साँध सिमानालाई पर्खाल लगाएर सुरक्षित गरिएको भौतिक योजना ।

निर्माण रेखा : कुनै पनि निर्माणको निमित्त भविष्यमा विस्तार गर्न सकिने बाटो घाटो वा भइरहेको बाटोलाई बिस्तार गर्ने क्रममा अधिकार प्राप्त अधिकारीले तोकिदिएको निश्चित रेखा । सेटव्याक लाइन सामान्यत : प्लटको सिमानासँग समानान्तर हुनेगरी सडकको प्रकृति हेरी एउटा निश्चित दूरीमा तय गरेको रेखालाई नै निर्माण रेखा जनाउनेछ ।

निर्माण : कुनै पनि निर्माणको कुनै पनि भाग जुनसुकै उद्देश्यले र जुनसुकै सामाग्रीले बनाइएको भए तापनि मानिसको आवासको निमित्त होस् वा नहोस् र जस अन्तर्गत जग प्लिन्थ , गारोहरु, भुँइ, छाना, चिम्नी, प्लम्बिङ्ग र भवन सम्बंन्धी अन्य सुविधाहरुका साथै निश्चित प्लेट फर्म, वरण्डा, बार्दली, कार्नेस
वा बाहिर निकालिएको भाग र कुनै चिन्ह वा बाहिर निकालिएको कुनै निर्माण वा भागलाई छोप्न वा छोप्ने उद्देश्यले गरिएको निर्माण वा गारोको कुनै भाग ।

निवास योग्य कोठा : प्राय: प्रयोगमा नआउने वा छोटो समयको लागि मात्र प्रयोग हुने खालका बाथरुम, शौचालय, भण्डार, कोरिडोर जस्ता कोठाहरु बाहेक एक वा सोभन्दा बढी व्यक्तिहरु बस्ने, सुत्ने, अध्ययन गर्ने वा खाने र भान्साको हकमा खाने वा बस्ने उद्देश्यले बनाइएको कोठा ।

पंक्तिबद्ध आवास : अगाडि र पछाडिपट्टि वा बीचमा खुला भाग राखी जोडिएर बनेको भवनहरुको पंक्ति ।

परिवर्तन : एक किसिमको निर्माणको स्वीकृति लिई वा एक किसिमको उपयोगबाट अर्काे किसिमको उपयोगमा फेरबदल गर्ने वा क्षेत्रफल वा उचाइमा थपघट गर्ने वा आवतजावतका आधारमा नै परिवर्तन गर्ने वा त्यसलाई बन्द गर्ने वा स्वीकृत संरचनामा नै परिवर्तन गर्ने जस्ता कार्य ।

प्राविधिक समिति : पालिकाको प्रमुखको संयोजकत्वमा निजले तोकेको इन्जिनियर, सहरी विकास तथा भवन निर्माण विभाग, जिल्ला प्राविधिक कार्यालयको प्रतिनिधि, नापी अधिकृत तथा आमन्त्रित विशेषज्ञहरु सहितको समिति ।

प्लट : बाहिरी सिमानाहरु स्पष्ट हुनेगरी खुलेको जमिनको टुक्रा वा भाग ।

Plotted land in Nepal

प्लटको गहिराई : प्लटको अगाडि र पछाडिको सिमाना बीचको दूरी ।

प्लिन्थ : कुनै पनि भवन वा निर्माणको जमिनको सतहभन्दा माथि भुँइतलाको सतह समान वा भुँइ तलाको सतह भन्दा मुनिको भाग ।

प्लिन्थको क्षेत्रफल : भूमिगत तला वा भुँइतलाको गारो सहितको भागले ढाकिएको सम्पूर्ण भुँइको क्षेत्रफल ।

फायर सेपरेसन : आगो फैलावटलाई रोक्नको निमित्त गरिएको भवन वा निर्माणहरुको विभाजन ।

बाटो : कुनै पनि प्रकारले सर्वसाधारण जनताले हिंड्ने गरेको वा कुनै निश्चित समय सम्मको लागि निर्वाध रूपमा हिँडेको साविकको वा कुनै योजना अन्तर्गत प्रस्तावित भएको आवत जावतको निमित्त प्रयोग भएको भाग । सो शब्दले सडकको पेटी, ट्राफिक आइल्याण्ड, सडकका रुखहरु र लिङ्गजस्ता बाटोको अधिकार क्षेत्रभित्र पर्ने सम्पूर्ण भाग समेतलाई जनाउँदछ ।

बाटोको उचाइ वा ग्रेड : प्लटको अगाडि पट्टि औपचारिक रूपमा निर्धारण गरिएको बाटोको केन्द्रीय रेखाको उचाइ ।

बाटोको रेखा : बाटोको अधिकार क्षेत्र निर्धारण गर्ने बाटोको दुवै साइडहरुको बाहिरी सीमा निर्धारण गर्ने रेखा ।

बार्दली : आउन जान हुने वा बस्न सकिने पारापिट, ह्यान्डरेल, बालुष्ट्रेड समेतको होरिजेन्टल क्यान्टिलेभर वा अन्य प्रोजेक्सन ।

बाहिर निस्कने बाटो : कुनै पनि भवन वा निर्माणबाट बाहिर निस्कने माध्यमको रूपमा प्रयोग हुने स्थान ।

बाहिरी चोक : कम्तिमा एकातर्फ निर्माण नभइ खुला रहेको वा एकातर्फ नघेरिएको चोक ।

बुइँगल वा छाना मुनिको भाग : सरसफाइ सम्बन्धी प्रयोजनमा आउने बाहेक स्टोरको निमित्त वा खाना पकाउने, बस्ने वा पूजा गर्नेजस्ता कामको निमित्त उपयोग गरिने भाग ।

भर्‍याङ्गको ढकन : भर्‍याङ्गलाई ढाक्ने वा छोप्ने उद्देश्यले बनाइएको छाना सहितको कुनै भाग वा निर्माण ।

भवन एकीकरण : दुई वा सोभन्दा बढी एकल स्वामित्वका छुट्टा–छुट्टै घरघडेरीहरु एकीकरण गरी पुराना भवनहरुलाई भत्काएर नयाँ बन्ने बहुस्वामित्वको एउटै भवनहरु निर्माण गर्ने कार्य ।

भवन वा निर्माणको उचाइ : समतल छानाको हकमा प्रवेश सडकको केन्द्र सतहबाट भवनको माथिल्लो सतहसम्मको उचाइ र पाखो छानाको हकमा प्रबेश सडकको केन्द्र सतहबाट भिरालो छानाको अँगालो सतहसम्मको उचाइ ।

भित्री चोक : चारैतिरबाट निर्माण भइ घेरिएको चोक ।

भुँइ क्षेत्रको अनुपात : भवनको सम्पूर्ण तलाहरुमा निर्मित क्षेत्रफलको योगफललाई भवन बन्ने जग्गा वा घडेरीको क्षेत्रफलले भाग गरेर आएको भागफल ।

भुँइ : सामान्यतया भवन वा निर्माणको कुनै पनि तलाको तलो सतह ।

भूमिगत तला वा कोठा : जमिन मानिएको सतहबाट पुरै तल वा १.२ मिटरसम्म मात्र भुँइ माथि बनाइएको भवनको सबभन्दा तलो भाग ।

माथिल्लो तला : पुरा वा आंशिक रूपमा निर्माण गरिएको भवन वा निर्माणको भुँइको तला माथिको तला ।

मिश्रित आवासीय भवन : तलो तला व्यापारिक वा अन्य प्रयोजनमा रहेको र माथिल्लो तला आवासीय प्रयोजनमा रहेको भवन ।

मेजानिन फ्लोर : तलो तलाबाट मात्र जाने बाटो भएको जमिनको सतहभन्दा माथि रहेको कुनै दुई तलाहरुको बीचमा पर्ने भाग ।

लिफ्ट : मानिस वा वस्तुहरुलाई विभिन्न तलाहरुमा पुग्न वा पुर्‍याउनको निमित्त जडान गरिएको यन्त्र ।

लोफ्ट : भिरालो परेको छानाको बाँकी रहेको भागमा निर्मित भँुइको सामान्य सतहभन्दा माथि रहेको अधिकतम १.५ मिटर को उचाइ भएको भण्डार गर्ने उद्देश्यले बनाइएको वा उपयोग गरिएको भाग ।

वायुयान : वायुयान भन्नाले हावाको प्रक्रियाद्वारा वायुमण्डलमा आधारित हुन सक्ने जुनसुकै यन्त्र र सो शब्दले जमिनसित गाँसिएको वा नगाँसिएको बेलुन, हवाइ जहाज, हेलिकेप्टर, चङ्गा, ग्लाइडर, ह्यांग ग्लाइडर, माइक्रोलाइट, बेलुन र उड्ने अन्य जुनसुकै यन्त्रलाई समेत जनाउँछ ।

विकास : जमिनको कुनै पनि सतह वा भागमा गरिने निर्माण वा भइरहेको निर्माण कार्यलाई परिवर्तन गरी नयाँ रुप दिने वा निर्माण गर्ने प्रक्रिया ।

विमानस्थल क्षेत्र : विमानस्थल वा हवाइ उडान र अवरणको सुरक्षित सञ्चालन तथा नियन्त्रण गर्ने वा तत्सम्बन्धी आवश्यक सूचना तथा जानकारी आदान प्रदान गर्ने कामको निमित्त प्रयोग हुने कुनै यन्त्र तथा सञ्चार वा उड्डयन सहाय (नेभिगेसनल एड) उपकरणहरू जडान भएका वा नभएका सबै स्थान, भवन, टहरा, टावर, धवनमार्ग ।

विमानस्थल : वायुयान प्रस्थान वा अवतरण गर्ने कामको निमित्त पूरा वा आंशिक रूपमा प्रयोग हुने कुनै निश्चित वा सीमित जल वा स्थल क्षेत्र र सो शब्दले त्यस क्षेत्रमा रहेका वा त्यस क्षेत्रसँग सम्बन्धित् सबै भवन, टहरा, धवनमार्ग समेतलाई घेरिएको सुरक्षित स्थल ।

वेसमेन्ट : पूर्ण वा आंशिक रुपले जमिन मुनि रहेको भवनको तला ।

व्यापारिक भवन : व्यापारिक प्रयोजनका लागि बनेको भवन । व्यापारिक भवन भन्नाले सर्टर राखिएको भवन वा आवासीय कम व्यापारिक भवन समेत बुझ्नु पर्दछ ।

शौचालय : मानिसहरुलाई दिसापिसाब गर्नका निमित्त बनाइएको पानी फ्लस गर्ने वा पानी हाल्न हुने व्यवस्थासहितको कोठा वा यस्तै प्रकारको कुनै पनि भाग ।

सामूहिक आवास : एकै संस्था वा निकायले सामूहिक स्वामित्व भएको जमिनमा निर्मित गरेको एक तले वा धेरै तलाहरु भएको बसोबास गर्ने घर वा स्थानहरुको समूह ।

सार्वजनिक ग्यारेज : कुनै पनि प्रकारका बाहनहरु मर्मत गर्न, भाडामा लिन दिन, बिक्री गर्न, स्टोर गर्न, पार्किङ्ग गर्नको निमित्त बनाइएको वा प्रयोग गरिएको निजी ग्यारेज बाहेकको भवन वा त्यसको भाग ।

सार्वजनिक भौतिक योजना : केही स्वामित्व कर्ताहरुले आफ्नो लगानीमा विकास गरेको तर तिनका सडक, खुला क्षेत्र आदि सार्वजनिक प्रयोगको लागि समेत खुला गरिएको भौतिक योजना ।

सेटव्याक : आफूले आफ्नो जग्गामा भवन वनाउँदा भवनको वाहिरी गारो र साँधसिमाना, सार्वजनिक सम्पत्ति र सडक अधिकार क्षेत्रवाट छाड्नुपर्ने न्यूनतम दूरी ।

सेवा मार्ग : सुविधा वा सेवा पुर्‍याउने उद्देश्यले सामान्यत : भवन वा प्लटको पछाडि पट्टि रहेको बाटो ।

सेवा सुविधा : सडक, बाटो, खुला क्षेत्र, पार्क, मनोरञ्जन क्षेत्र, खेलमैदान, बगैँचा, खानेपानी, विद्युत आपूर्ति, सडक बत्ती, ढल, सार्वजनिक निर्माण कार्यहरु र अन्य सेवा सुविधा तथा आवश्यक विषयहरु ।

सडकको अधिकार क्षेत्र : ऐन, नियम तथा स्वीकृत मापदण्डले तोकेको सडकको चौडाइ ।

स्रोत: सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय

Write A Comment

Pin It